२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


संसद बैठकको रौनक नै हरायो (भिडियो)


0
Shares

सांसदमात्र हैन, सरकारका मन्त्रीहरु पनि संसद बैठकमा समयमै उपस्थिति नहुँदा संसद बैठकसमेत प्रभावित बन्न पुगेको छ ।

संसदप्रति सरकारकै उपेक्षा देखिएपछि सभामुखले उपस्थितिका लागि ‘रुलिङ’ नै गर्नुपर्ने अवस्था बनेको छ ।

संघीय सांसदहरुको मुख्य काम नै संसदको बैठकमा सहभागी हुनु, बैठकमा सक्रियतापूर्वक भाग लिनु र कानुन निर्माण तथा सरकारको काम–कारबाहीको प्रभावकारी मूल्यांकन गर्नु हो ।

तर, सांसदहरुले त्यो भूमिका सक्रियरुपमा निभाउन नसकेको पछिल्ला दिनको उपस्थितिलेसमेत पुष्टि गरेको छ ।

संसद बैठक चल्दा कुर्सीहरु खाली देखिन थालेको थुप्रै दिन बितिसक्यो । सांसदहरु हाजिर गर्ने र आ–आफ्ना काममा जाने गरिरहेका छन् ।

शीर्ष नेतादेखि अन्य सांसदहरुसमेत बैठकस्थलमा बैठकभर बस्दैनन् । जसले गर्दा सीमित संख्यामा रहेका सांसदहरुले बोल्ने र खाली कुर्सीलाई सुनाउने अभ्यासजस्तो हुन थालेको छ ।

सांसदहरुलाई बैठकमा उपस्थित हुन अनौपचारिकरुपमा पटक–पटक भन्दा पनि सुुनुवाइ नभएपछि सभामुख कृष्णबहादुर महराले बैठकमा उपस्थित हुन मन्त्री र सांसदलाई रुलिङ नै गर्नुपर्‍यो ।

संविधानको धारा ७६ मा प्रधानमन्त्री तथा मन्त्रीहरु सामूहिक र व्यक्तिगतरुपमा पनि संघीय संसदप्रति उत्तरदायी हुने व्यवस्था छ ।

उनीहरुले सांसदले उठाएका हरेक विषयहरु गम्भीरतापूर्वक सुन्ने र त्यसप्रति जवाफदेहिता निर्वाह गर्नुपर्ने हुन्छ । यसैले पनि संसदीय अभ्यासमा कुनै एक मन्त्री उपस्थित नभइ संसद बैठक सन्चालन नगर्ने परम्परा छ ।

तर, विगत केही दिनयता सरकारका मन्त्रीहरु उपस्थित नभएकै कारण संसद बैठक समयमै सुरु हुन नसकेका दृष्टान्त देखिँदै आएको छ भने सांसदको न्यून उपस्थितिले बैठकको रौनक नै हराएको छ ।

भिडियो हेर्नुहोस्