१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बीपी राजमार्गमा चल्ने सवारीको नयाँ मापदन्ड


0
Shares

मालबाहक सवारी–साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ‘ह्याङ’ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी–साधनलाई गुड्न दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिए ।

यस्ता सवारी बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म चल्न पाउने उनले बताए ।

धुलिखेल–बर्दिबास मार्गमा यसअघि २०७३ असारदेखि सरकारले १८ सिटभन्दा बढीका सार्वजनिक यातायात र १० ‘ग्रस’ यान्त्रिक क्षमताभन्दा बढीका मालबाहक सवारी प्रवेशमा रोक लगाइँदै आएको विभागका प्रवक्ता तुलसीराम अर्यालले सुनाए ।

तोकिएको सो मापदन्डविपरीत प्रहरीको आँखा छलेर र मिलाएर व्यवसायीले बढी क्षमताका सवारी चलाउँदै आएका थिए ।

सोमबारदेखि मन्त्रालयले तोकेको मापदन्डका आधारमामात्र सवारीलाई मार्ग इजाजत दिइने उनले बताए ।

मापदन्डविपरीतका सवारी बिनामार्ग इजाजत चलेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीअनुसार कारबाही गरिने विभागले जनाएको छ । रासस