२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नारायणगढ–मुग्लिन सडकखण्डको समयसीमा भोलि सकिदै, एक किलोमिटर सडक पिच गर्न बाँकी


0
Shares

चितवन, जेठ १५ । निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारको काम अन्तिम चरणमा पुगेसँगै समयसीमा पनि सकिन थालेको छ ।

केही काम सम्पन्न गर्न बाँकी रहेकाले आयोजनाले पाँचौ पटक म्याद थपको माग गरेको छ । चौथो पटक थपिएको म्याद भोलि (बुधबार) सकिदैं छ ।

म्याद थपका लागि ठेकेदार कम्पनीले परामर्शदातालाई पत्र दिइसकेको छ । सबै काम सम्पन्न गर्न अझै एक महिना लाग्न सक्ने आयोजनाको अनुमान छ ।

विविध कारणले आयोजनाको १४ प्रतिशत लागतसमेत बढेको छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्द खनालले पाँचौ पटक म्याद थप गरिए असारसम्ममा सबै काम सम्पन्न गर्न सकिने बताए । ‘म्याद थपका लागि प्रक्रिया अघि बढाईएको छ, एक महिना समय थप भए सबै काम पूर्ण रुपमा सम्पन्न हुन्छ,’ इन्जिनियर खनालले भने ।

नारायणगढ–मुग्लिन सडकखण्डको पहिलो ठेक्काको १०.४ किमी, दोस्रोको १०.६ किमी र तेस्रो ठेक्काको १२.१ किमी निर्माण जिम्मामा रहेको छ । चेपाङ डाँडामा सडक विस्तार गर्न अझै समय लाग्ने हुनाले सडकछेउको भागमा एंकर विधिबाट काम भइरहने र बीचको भाग भने यातायात सहजताका लागि पिच भइरहेको छ ।

हालसम्म पहिलो ठेक्काको ८८, दोस्रोको ९७ र तेस्रोको जम्मा ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । बर्खाको समयमा पहिरो रोक्ने काम पनि नयाँ ठेक्का लगाएर धमाधम भईरहेको छ ।

हालसम्म ३२.३ किमी सडक पहिलो र दोस्रो चरणको पिचको काम सकिसकेको छ । केही वर्ष अघिदेखिको यात्रा गर्दाको हैरानीलाई पन्छाउँदै पिचको काम लगभग सकिएसँगै यो सडकखण्डको यात्रा सहज बन्दै गएको हो ।

नारायणगढ–मुग्लिङ सडकखण्डको कुल ३३.२ किलोमिटर सडकमा अब एक किमिमात्रै पिचका लागि बाँकी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म ८९.७ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार मुग्लिन बजार नजिक रहेको २ नम्बर पुलदेखि चेपाङ डाँडासम्मको सडक क्षेत्रमात्र अब पिच गर्न बाँकी छ ।

एकहप्ता भित्र यस सडकको पूरै खण्ड पहिलो तहको पिच सम्पन्न भईसक्ने आयोजनाको दावी छ । पहिलो र दोस्रो ठेक्काका कतिपय स्थानमा तेस्रो तहको पिचको कामसमेत भइरहेको छ । बाँकी रहेको एक किलोमिटर क्षेत्रमा पनि अहिले ब्ल्याक टपका लागि आधार तयार पार्ने काम धमाधम भइरहेको सिनियर डिभिजन इन्जिनियर खनालले बताए ।

पहिलो अर्थात् आँपटारीदेखि दासढुंगासम्मको ठेक्का बीएलए–एससिसी, दोस्रो दासढुंगादेखि सिमलतालसम्मको उड हिल लामा र सिमलतालदेखि मुग्लिनसम्मको ठेक्का सुप्रिम रौताहा जेभीले लिएको हो ।

सडकमा डन्स विटुमिन मेकाडेम डीबीएम–१ र डीबीएम–२ ६÷६ सेन्टीमिटरको रहने छ ।

सबै क्षेत्रमा पिच भएपछि पिचमाथि ४ इन्चको बीसी राखिने आयोजनाले जनाएको छ । दुई तहको पिचपछि थप ४ इन्चको बीसी राखेर सडकलाई थप बलियो बनाइने छ ।

खाल्डाखुल्डी र धूलोका कारण निकै कष्टपूर्ण बन्ने गरेको यस सडकको यात्रा पूरै पिच भएपछि भने राहत मिल्ने छ ।