Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


राष्ट्रियता र लोकतन्त्र जोगाउन नेता केबी गुरुङले देशब्यापी अभियान थाल्ने


0
Shares

काठमाडौं, जेठ १६ । राष्ट्रियता र लोकतन्त्र जोगाउन साथै विपीको विचार प्रवद्र्धन कार्यक्रम लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङ(केबी)ले प्रदेशस्तरीय भेला गर्ने भएका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले विपी कोइरालाको विचार अनुशरण गर्ने तथा कांग्रेसको सिद्धान्त मान्ने जनताहरुमा निराशा पैदा भएको भन्दै जागरण अभियान स्वरुप यस्तो भेला आयोजना गर्न लागिएको जानकारी दिए ।

विपी विचार राष्ट्रिय समाजको ब्यानरमा बैशाख २१ गते तनहुँको दमौलीमा प्रदेश नम्बर ४ स्तरीय भेला आयोजना गरी सुरु भएको अभियान जेठ १८ गते काठमाडौंको धुम्बाराहीमा प्रदेश नम्बर ३ स्तरीय भेला डाकिएको छ ।

‘हरेक क्रान्ति र आन्दोलनहरुको नेतृत्व गरेको कांग्रेस आज किन र कसरी भूमिकाविहीन भइरहेको छ, कम्युनिष्टहरु किन एकताबद्ध भइरहेका छन् अनि कांग्रेस किन जिम्मेवार प्रतिपक्षीको भूमिकामा बलियो बन्न सकिरहेको छैन ?,’ गुरुङले प्रश्न गर्दै भने,‘ त्यसैले राष्ट्रियता र प्रजातन्त्र जोगाउन अनि कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काउन हामी एकजुट हुन जरुरी छ ।’

विपी विचार राष्ट्रिय समाजका सहअध्यक्ष गोविन्दराज जोशीले विपीको विचार र आदर्श मान्ने कांग्रेस आज सिद्धान्त भन्दा पनि सत्तामा केन्द्रीत बन्दै गएपछि आफैं कमजोर बन्न लागेकाले सिद्धान्त जोगाउन यस्तो अभियान आवश्यक भएको बताए ।

उनले भने, बाम मिल्नु भनेको कांग्रेसको अस्तित्व सकिएकै हो वा तीन तहको निर्बाचनका कांग्रेस कसरी पराजित बन्यो भन्ने प्रश्नको जवाफ जनताबाटै खोज्न हामी देशब्यापी अभियानमा जानुपर्ने बाध्यता पर्‍यो ।’

भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे कांग्रेसले विकल्पमा प्रस्ताव दिन नसक्नु नेतृत्वको कमजोरी भएको उनको भनाइ थियो ।

देश गम्भीर संकटमा फसेकाले यसलाई जोगाउन सबै जनतालाई एकठाउँ उभिन पनि अध्यक्ष गुरुङले आब्हान गरेका छन् ।