
कपिलवस्तु, जेठ १८ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले २० बर्ष पार गरेरमात्र बिहे गर्न नगरबासीलाई अनुरोध गरेका छन् ।
प्रमुख कलामले बालविवाह रोक्नका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा बालविवाह अन्त्यका लागि रणनीतिक योजना तर्जुमा गोष्ठीको समापन समरोहमा बोल्दै उनले बालविवाह गैरकानुनी भएको बताए ।
सानो उमेरमा बिहे गरे जीवनको सत्यानास हुने भन्दै उनले २० बर्षपछि मात्र आफ्नो छोराछोरीको विवाह गरिदिन उनले सबैलाई अग्रह गरे ।
आफ्नो छोराछोरीको भविष्य राम्रो बनाउनका लागि पहिले शिक्षा दिने, त्यसपछि उमेर पुग्यो भने उनिहरुको सल्लाह अनुसार विवाह गर्दा समाज समुन्नत बन्ने महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले बताए ।
कार्यक्रममा युएनएफपीएका चित्र महतोले बालविवाह गर्दा समाजमा हुने नकारात्मक असर, बालविवाह सम्बन्धी नेपालको अवास्थामा बारेमा विशेष प्रशिक्षण दिएका थिए । उनले महाराजगञ्ज नगरपालिकाका निर्वाचित प्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, समाजसेवीलाई समाजमा विवाह गर्दा पहिले उमेर २० बर्ष पुगेको छ कि छैन भन्ने कुरा पत्ता लगाएर समस्या समाधान गर्न अग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्