
प्रतीकात्मक तस्वीर
सोलुखुम्बु, जेठ १८ । सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको मृत्यु भएको छ ।
बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको ज्यान गएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए ।
डोजर चालक ओखलढुङ्गाका कमल भुजेल खाजा खान गएको समयमा सहचालक गौतमले डोजरमा ग्रिज लगाउने क्रममा पहिरो आउँदा डोजरसहित पुरिएको बताइएको छ ।
गाउँपालिकाको लिखोला खोल्सीबाट बुङ बजारसम्म सडक खन्न प्रयोग गरिएको बा२क ८०१७ नम्बरको बोबेल कम्पन्नीको डोजर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अर्को डोजरको प्रयोग गरी उद्धार गरिएको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्