१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


नेपालमा बालबालिकाको अवस्था गत वर्षभन्दा चार स्थान तल झर्‍यो


0
Shares

काठमाडौं, जेठ १८ । बालबालिकाका सन्दर्भमा नेपालको अवस्था अघिल्ला वर्षमा भन्दा तल ओर्लेको प्रतिवेदन सार्वजनिक भएको छ ।

बालबालिकाका सन्दर्भमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाह र विभिन्न किसिमका भेदभावजन्य सामाजिक कुरीतिका कारण बालबालिकाको अवस्था गत वर्षभन्दा चार स्थान तल झरेको उल्लेख छ ।

१७५ देशमध्ये ६७७ अंक पाएको नेपाल १३८ औँ स्थानमा छ । बाल मृत्युदर, कुपोषण, विद्यालय बाहिर रहेका बालबालिका, बालश्रम, बालविवाह, बालिका आमा र चरम द्वन्द्वको शिकार भएका बालबालिका जस्ता सूचकका आधारमा प्रतिवेदन बनाइएको जनाइएको छ ।

मूलतः नेपाल बालविवाहको विषयमा निकै पछि परेको सेभ द चिल्ड्रेनले जनाएको हो । नेपालमा १५ देखि १९ वर्षका किशोरी विवाहको दर २७.१ प्रतिशत रहेको उल्लेख छ ।

यो उमेर समूहका एक हजार किशोरीमध्ये ७१.३ जनाले बच्चा जन्माउने गरेका छन् । दक्षिण एशियाली मुलुकमध्ये माल्दिभ्स ५२ औं, श्रीलंका ६० औं, भुटान ९८ औं, भारत ११३ औं, बांग्लादेश १३० औं र पाकिस्तान १४९ औं स्थानमा छन् ।

नेपालले सन् २०२० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।