
नवलपरासी, जेठ १९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१ सण्डामा पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा पक्की पुल निर्माण भएको छ ।
झरही खोलामा निर्माण गरिएको पुलले सदरमुकामका स्थानीयलाई सुनवल नगरपालिकाको बडेरा हुँदै पूर्वपश्चिम राजमार्गमा छोटो दुरीमा पुग्न सहज भएको छ भने राजमार्ग वरपरका क्षेत्रलाई सदरमुकाम पुग्न पनि सहज भएको छ ।
पुलको उद्घाटन गर्दै पश्चिम नवलपरासीका प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले जनप्रतिनिधि आइसकेपछि विकास निर्माणले तिव्रता पाएको भन्दै पुल निर्माणपछि लाभान्वित हुने उपभोक्ताले त्यसको रेखदेख र संरक्षण गर्नुपर्ने बताए ।
२० महिनामा निर्माण सम्पन्न भएको प्रि–स्ट्रेस आरसीसी पुलको लागत पाँच करोड ५६ लाख रहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर मुक्तिराम भट्टराईले जानकारी दिए । ३६ मिटर लम्बाई रहेको पुल आधुनिक प्रविधिद्वारा निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्