१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सरकारसँग अवसर र चुनौतीका चाङ, कांग्रेस सशंकित (भिडियो रिपोर्ट)


0
Shares

सरकार शक्तिशाली बन्दै गएपछि निरंकुश हुनसक्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आशंका गर्न थालेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा वर्तमान सरकारलाई नेकपा, संघीय समाजवादी फोरम गरी दुईतिहाइभन्दा बढी अर्थात् १९२ सांसदको समर्थन छ ।

नेपालको संसदीय व्यवस्थाको इतिहासमा शक्तिशालीमध्येको एक वर्तमान सरकारसँग अवसर र चुनौती पनि उत्तिकै छन् ।

राजनीतिक स्थिरता दिनसक्ने, मुलुकको विकास तथा समृद्धिलाई द्रुतगतिमा अघि बढाउने र सुशासनमा लैजाने अवसर वर्तमान सरकारसँग छ ।

वर्तमान सरकारले चाहेमा आफ्नै ‘भिजन’अनुसार मुलुकलाई अगाडि बढाउने सामर्थ्य छ । आफ्नै अकर्मन्यताबाहेक सरकारका अगाडि अन्य कतैतिरबाट चुनौती छैन ।

संसदमा प्रतिपक्ष दल निकै कमजोर भएकाले संसदमा पनि सरकार उत्तिकै सुविधामा छ । यसकारण सरकारलाई निर्धक्क भएर काम गर्न पाउने अवस्था छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने शक्तिशाली सरकारका प्रधानमन्त्री निरंकुश हुनसक्ने भन्दै सशंकित देखिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीका गतिविधि निरंकुशतातर्फ उन्मुख रहेको टिप्पणी गरे ।

प्रतिपक्ष दलको आशंकासँगै सरकारका अगाडि निर्वाचनका बेला जनतासँग आफूले गरेको प्रतिबद्धता पूरा गर्ने ठूलो चुनौती छ ।

यस्तै, संविधान संशोधनको दुईबुँदे लिखित सहमतिका आधारमा सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम नेपालसँग भएको सहमति कार्यान्वयन उत्तिकै चुनौती छ ।

संख्यात्मक हिसाबले संविधान संशोधन सहज भएपनि के–के विषयमा संशोधन गर्ने ? भन्ने विषय स्पस्ट छैन ।

यता, प्रतिपक्ष दल कांग्रेस भने आफूहरुको सहमतिबिना संविधान संशोधन सहज नभएको जिकिर गर्छ ।

पछिल्लो निर्वाचनबाट मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख भएपनि मुलुकका मूलभूत समस्या भने यथावत् छन् ।

बजेट घाटा, व्यापार घाटा, बेरोजगारी, वैदेशिक ऋण, भ्रष्टाचार नियन्त्रण, र मुलुकलाई सुशासनतर्फ लैजानु वर्तमान सरकारका अगाडि जटिल चुनौती छन् ।

यस्तै, स्थानीय तह र प्रदेशलाई व्यवस्थित र संस्थागत गर्नु पनि सरकारका अगाडि चुनौती छ ।

भिडियो हेर्नुहोस्