२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ओलाङचुङगोलामा सडक त बन्यो तर गाडी छैन


0
Shares

ताप्लेजुङ, जेठ २० । ताप्लेजुङको ओलाङचुङगोला एक वर्ष अघिदेखि नै छिमेकी मुलुक चीनसँग सडक सञ्जाल जोडिए पनि स्थानीयले गाडी चढ्न पाएका छैनन् ।

जिल्लाकै दुर्गम क्षेत्र मानिने यहाँ सदरमुकाम फुङलिङ तर्फबाट सडक नजोडिएकाले स्थानीयले गाडी चढ्न नपाएका हुन् । तिब्बतबाट ओलाङचुङगोलासम्म बेलाबेलामा सवारी साधन आए पनि स्थानीयलाई ओहोरदोहोरका लागि भने सवारी साधन नभएको स्थानीय छेतेन शेर्पा बताउँछन् ।

गत वर्षको साउनमै चीन र नेपालको सिमाना टिप्तालादेखि ओलाङचुङगोलासम्मको २१ किलोमीटर बाटो खोलिएको थियो ।

तिब्बतसँगको समन्वयमा बाटो खनिएकाले बाटोको रेखदेख लगायतका कामका लागि समय समयमा तिब्बतीहरु गाडी लिएर आउने गर्छन् । चाँडै गाडी चढ्न पाईएला भन्ने आशामा शुरुमा स्थानीयले नै लगानी जुटाएर बाटो खनेका थिए ।

तिब्बतको रिउ बजारको भरमा रहेका स्थानीयलाई सडक हुँदाहुँदै पनि हिँड्नु परेको छ । गाडी किन्ने चाहना स्थानीयको भए पनि तिब्बतबाट गाडी किन्न पाउने/नपाउने जानकारी छैन ।

यता, बाटो जोडिएसँगै फक्ताङलुङ गाउँपालिकाले मुलुकका अरु सीमा क्षेत्रको अभ्यास बुझेर काम गर्ने बताएका छन् । सदरमुकामबाट ओलाङचुङगोला झण्डै तीन दिनको पैदल दुरीमा छ ।