१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


अनशनरत गंगामाया भन्छिन्ः मलाई फाँसी दिन्छौ भने टुंडिखेलमा लगेर देऊ(भिडियो)


0
Shares

प्रज्ञा तिमिल्सिना र कुमार थापा(ईमेज):
काठमाडौं, जेठ २० । सशस्त्र द्वन्द्वका समयमा माओवादीले मारेको आफ्नो छोराका हत्यारालाई कारबाही गर्न माग राख्दै अनशनमा बस्दै आएकी गंगामाया अधिकारीे ६ दिनदेखि आमरण अनशनरत छिन् ।

६ बर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामायाले सरकारले आफलाई पटक पटक झूठा आश्वासन दिएकाले अब न्याय नपाएसम्म अनशन नत्याग्ने बताईन ।

पानी पनि नखाई अनशनमा बसेकी उनले स्वास्थ्य अवस्था खस्किदै गएको छ ।

गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते चितवनमा हत्या गरेका थिए ।

निर्दोष छोराको हत्या भएपछि अधिकारी दम्पत्तिले हत्यारालाई कारबाहीको माग गर्दै संघर्ष सुरु गरे । घरवास सबै छाडेर फगत न्यायका लागि लड्दा लड्दै २०७१ साल असोज ६ गते अनशनकै क्रममा नन्दप्रसादले देहत्याग गरे ।

पुत्र वियोग सहंदै आएकी गंगामायामाथि पति वियोग पनि थपियो तर उनले संघर्षलाई निरन्तरता दिदै आएकी छिन् । अपराधीको नामै तोकेर उजुरी दिंदा पनि राज्यले हत्यारालाई कारवाही नगरेको गंगामायाको गुनासो छ ।

गंगामायाले अब झूट आश्वासन दिएर अनशन तोडाउन नआउन सरकारलाई आग्रह गर्दै आफुलाई फाँसी नै दिने भए अस्पतालको वेडमा नभएर टुँडिखेलमा लगेर दिन आग्रह गरिन् ।

मानवअधिकारकर्मी चरण प्रसाईले सर्वोच्च अदालतले कृष्णप्रसाद अधिकारी हत्याको आरोप लागेका छबिलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिंदासमेत सरकारले न्यायालयको आदेश पालना नगर्नु लज्जास्पद भएको बताइन ।

६ दिनदेखि आमरण अनशनरत गंगामायाको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ । वीर अस्पतालको क्याविन नम्वर ७ मा आमरण अनशनरत गंगामायाको ब्लड प्रेसर कम हँुदै गएको छ ।

छातीमा केही समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सक डा. मनेनप्रसाद गोर्खालीले जानकारी दिए । स्वास्थ्यमा जटिल भएकाले आइसियुमा राख्ने तयारी भएको पनि डा. गोर्खालीले जानकारी दिए ।

गंगामायाको श्रीमान नन्दप्रसाद अधिकारीको शव झण्डै चार वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा त्यत्तिकै राखिएको छ । गंगामायाले न्यायको भीख मागिरहेको पनि बर्षौं बितिसकेको छ ।

तर व्यक्ति हत्यामा अदालतले दोषी किटान गरेकालाई लाजै नमानी माफी मिनाह दिने सरकार न्यायका लागि जीवन त्याग गर्ने मुखमा पुगेको गंगामाया जस्ता पीडितलाई शैयामा सडाउन चाहन्छ कि भन्ने आशंका पनि बढेको छ ।

दण्डहीनताले ग्रसित मुलुकमा पीडितले न्याय नपाउने हो भने संक्रमणकालीन र फौजदारी दुबै न्याय प्रणालीप्रति गम्भीर प्रश्न उब्जाउने छ ।

भिडियो