
वासिंटन, जेठ २१ । अमेरिकामा बसोबास गर्दै आएका अवैध आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ । उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।
हालै अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको तस्वीर प्रकाशमा आएको छ । अदालतभित्रको कारवाहीबारे यसरी तस्वीर प्रकाशमा आउने नगरे पनि यो दुर्लभ तस्वीर तमाम आप्रवासीहरुका लागि एउटा पाठका रुपमा लिइएको छ, जो अमेरिकामा अवैध रुपमा प्रवेश गरी अस्थायी आवास अनुमतिको प्रतिक्षामा छन् ।
समाचार एजेन्सीहरुका अनुसार यो तस्वीर टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बस्दै आएका अवैध आप्रवासीको संख्या कटौती गर्ने नीति अघि सारेका छन् । उनी अमेरिकामा यसअघि विभिन्न मुलुकका नागरिकलाई दिदैं आएको अस्थायी आवास अनुमतिको सुविधा हटाउन उद्यत देखिएका हुन् ।
ट्रम्पले यस्ता आप्रवासीबाट मुलुकको सुरक्षामा प्रश्न खडा हुने गरेको बताउँदै आएका छन् ।
गृहयुद्ध, प्राकृतिक विपद्, भोकमरी लगायतका संकट झेल्दै आएका मुलुकका नागरिकका लागि अमेरिकाले यसअघि अस्थायी बसोबासको अनुमति दिदैं आएको थियो । एल साल्भाडो, होन्डुरस, ग्वाटेमालालगायतका मुलुकबाट हजारौंको संख्यामा नागरिकहरु अमेरिका पुगेका छन् । यसअतिरिक्त मेक्सिकोसँगको सीमा हुँदै कयौं आप्रवासी अमेरिका प्रवेश गर्ने गरेको अधिकारीहरु बताउँछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्