
पर्वत, जेठ २१ । धौलागिरी अञ्चलका चार जिल्लामा केही दिनका लागि दैनिक ८ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
विद्युत् लाइन मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेको हो ।
मोदी–पोखरा १३२ केभी प्रशारण लाइनअन्तर्गत टावर नम्वर ७० परिवर्तन गर्न भन्दै आइतबारदेखि विद्युत् सेवा ठप्प पारिएको हो ।
बुधवारसम्म विद्युत् कटौती गरेर टावर परिवर्तनको काम गरिने नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।
पर्वतलगायत बाग्लुङ, म्याग्दी र मुस्ताङमा समेत सोही सवस्टेसनमार्फत विद्युत् प्रशारण लाईन जडान भएकाले यि क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
दैनिक आठ घण्टा विद्युत ठप्प हुँदा यस क्षेत्रमा सञ्चालित उद्योग, कलकारखाना, सञ्चार माद्यम बढी प्रभावित भएका छन् ।
यसैबीच नेपाल विद्युत प्राधिकरण मोदीखोला जलविद्युत केन्द्र र क्षेत्रीय प्रशारण कार्यालय पोखराले विज्ञप्ति जारी गरि लामो समय हुने विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्