१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


जनप्रतिनिधि चयन भएको एक वर्ष वित्यो, प्रतिवद्धता अनुसार काम नभएको गुनासो


0
Shares

उपेन्द्र खनाल/ईमेज:
तनहु, जेठ २१ । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसक्दा तनहुँमा स्थानीय तहले अपेक्षा अनुसार काम गर्न सकेका छैनन् ।

चुनावी समयमा गरेका प्रतिबद्धता र आश्वासन अनुसार काम गर्न नसकेको भन्दै स्थानीयले गुनासो गर्न सुरु गरेका छन् ।

अनेक नाराबाजी र दर्जनौँ वाचा गरी जनतालाई पक्षमा लिएका जनप्रतिनिधिले सोही अनुरुपको काम गर्न नसकेपछि स्थानीयको गुनासो देखिन थालेको हो ।

दशओटा स्थानीय तह रहेको तनहुँमा एकवर्षको अन्तरालमा कुनै रचनात्मक र प्रशंसनीय काम देखिएन ।

जनप्रतिनिधिका पनि आफ्नै बाध्यता र चुनौती होलान् तर जनताको आँखाले भने उनीहरुलाई दोषी देख्न थालेको छ ।

आवश्यक भौतिक संरचना र कानुनविहीन अवस्थामा रहेको स्थानीय तहले एक वर्षमा करिब कानुन निर्माणको काम गरिसकेको छ ।

कर्मचारीले चलाउँदाको स्थानीय निकाय र अहिलेको स्थानीय तहमा खासै फरक नपाएको व्यास नगरपालिकाका स्थानीय विकास खनालको गुनासो छ ।

त्यसो त अपेक्षा अनुसारको काम गर्न नसकेको यथार्थलाई जनप्रतिधि पनि स्वीकार्छन् ।

तर व्यास नगरपालिका ४ का वडाध्यक्ष विश्व न्यौपाने पहिलेको तुलनामा अहिले जनताका काममा आमूल परिवर्तन आएको बताउँछन् ।

कर्मचारी र कानुनको अभावका कारण काम अपेक्षित हुन नसकेपनि जनप्रतिनिधिको तर्फबाट भने स्रोत साधन हेरेर काम तीव्र पारिएको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको भनाइ छ ।

ठूलो अपेक्षाका साथ स्थानीय सरकारलाई हेरिरहेका सर्वसाधारणले अनुभूति हुने काम नदेख्दा असन्तुष्ट हुनु स्वाभाविक हो ।

साथसाथै सोचेअनुसारका काम नभए पनि स्थानीय सरकार आएपछि धेरै सकारात्मक काम भएको कुरालाई भने नकार्न सकिँदैन ।

अबका दिनमा जनप्रतिनिधिले अझै स्पष्ट योजना र चुस्त रुपमा काम गर्न आवश्यक छ ।