Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


बाघको आक्रमणबाट एकै रात नौवटा गाई मरे


0
Shares

कञ्चनपुर, कात्तिक २१ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । 

गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौवटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाईमाथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताए ।

बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको उनले बताए । ‘राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पुर्‍याउन थालेको छ,’ उनले भने ।

बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उनले बताए ।

डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ । दुई साताअघि पनि ११ वटा गाई एकैरात बाघले मारेको थियो । नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ ।

सामुदायिक वनका तीन ठाउमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ । (रासस)