
यो एक प्राकृतिक विपद् हो । जसलाई रोक्न त सकिँदैन तर केही सावधानी अपनाए जोगिन भने सकिन्छ ।
आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसको अणुहरुबीचको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ एवं शक्तिलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो ।
सबै किसिमका चट्याङले विद्युत्को लहर उत्पन्न गराउने हुँदा चट्याङलाई खतरनाक मानिन्छ ।
पृथ्वीको जमिनको सतहको तापक्रम बढेपछि पृथ्वीको सतहमा रहेका जलाशयका स्रोतहरु, ताल, तलाउ, नदी, सागर, महासागरको पानी वाष्पीकरण विधिबाट कणकारुपमा आकाशतिर उड्दै जान्छ । जसले पछि बादलको रुप लिन्छ ।
बादल हावाको माध्यमबाट गतिमान हुन्छ । गतिमान भएका यस्ता बादलबीच घर्षण हुँदा ‘चार्ज’ उत्पन्न हुन्छ । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा हुन्छन् ।
जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ । जसलाई ‘क्युमलोनिम्बस’ भनिन्छ ।
बादलको तह बाक्लो भएपछि त्यसबाट प्रकाश छिर्न नसक्ने हुँदा यसलाई ‘कालो बादल’ पनि भन्ने गरिन्छ ।
मौसमविद् वरुण पौडेलकाअनुसार जब कालो बादल आकाशमा देखापर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।
जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्छ, तब बादलहरु आपसमा गतिमान भइ छिटो–छिटो दौडन्छन् । जसबाट बादलभित्र हुरी–बतास चल्छ । यसरी चलेको हुरी–बतासले बादलभित्र घर्षण पैदा गर्छ ।
सुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्कने गर्दछ । यस्तो चट्याङलाई ‘बादलदेखि बादलबीचको चट्याङ’ भनिन्छ । जसले पृथ्वीमा भएको वस्तुमा असर गर्दैन ।
जब बादलभित्रको हुरी–बतास धेरै समयपछि बादलबाट बाहिर निस्कन थाल्छ । घर्षणबाट उत्पन्न चार्ज धेरै बनेपछि पृथ्वीमा पनि विपरीत किसिमका चार्ज उत्पन्न हुन्छ ।
यसरी आकाशमा भएको बादलको चार्ज र पृथ्वीमा भएको विपरीत चार्जमा विभिन्न प्रतिक्रिया हुन्छ । यसरी परेको चट्याङले भने पृथ्वीमा रहेका वस्तुमा असर पुर्याउने मौसमविद् पौडेलको भनाइ छ ।
पौडेलकाअनुसार खुला स्थान वा अग्ला डाँडामा चट्याङको जोखिम बढी हुन्छ ।
बादलमा जम्मा भएको विद्युतीय चार्ज आकाशबाट पृथ्वीतिर आउनेक्रममा जुन वस्तु नजिक पर्छ, त्यही वस्तुमा चट्याङले हान्ने हुँदा टावर, अग्ला रुख, अग्ला संरचनामा चट्याङ पर्ने गर्दछ ।
चट्याङबाट बच्न सबैभन्दा राम्रो उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धारा बन्द गर्ने, झ्यालको छेउ, भित्तामा अडेस लागेर नबस्नेजस्ता सावधानी अपनाउन मौसमविद्हरु सल्लाह दिन्छन् ।
फलामे डन्डी प्रयोग गरेर बनाइएको पक्की घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्दा यसबाट बच्नसकिने सल्लाह पौडेलको छ ।
प्रतिक्रिया दिनुहोस्