
इटहरी, जेठ २५ । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।
इटहरी–२० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका लामाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।
लामा पछिल्लो समय विभिन्न घटनाहरुमा मुछिएका विवादित नेता पनि हुन् । उनीमाथि केही समय अघि तरुण दलका नेता सिजन गुरुङसँग मिलेर तरहरा भवानीपुरकी तिर्थकुमारी गिरीको जग्गा हडपेको आरोप पनि लागेको थियो । सोही विवादकै कारण गुरुङ अझै प्रहरी हिरासतमा छन् ।
लामाको शव हाल बिपी प्रतिष्ठानमा राखिएको छ । उनको दाहसंस्कारका लागि पार्टीका जिल्लास्तरीय नेताहरुको उपस्थिति भइसकेको छ भने पार्टीका केन्द्रीय नेताहरु पनि आउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्