१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन–‘असार १५ भित्र ठोस योजना लिएर आउनोस्’


0
Shares

मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका विषयमा शुक्रबार सिंहदरबारमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा सरकारप्रति जनताका अपेक्षा पनि धेरै रहेको उनले बताए ।

जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘यो सरकार पुजारीजस्तो होइन । बिहान उठ्ने, मन्दिर जाने, पूजा गर्ने अनि भोलि फेरि उही रित दोहोर्‍याउने’–उनले भने–‘देशलाई हामीले नयाँ ढंगले अघि बढाउनुपर्छ । विगतको निरन्तरतामात्र होइन ।’

उनले विकासप्रतिको नयाँ दृष्टिकोण बनाउनुपर्ने पनि बताए ।

‘हरेक मन्त्रालयले के–कस्ता कार्यक्रम सन्चालन गर्ने ? कसरी गर्ने ? त्यसका लागि असार १५ गतेभित्रमा ठोस योजना लिएर आउनोस्’–प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै भने–‘असार २५ गते ती योजनाका विषयमा व्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नुपर्दछ ।’

खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

‘जनताको अपेक्षा सरकारले सबैथोक गरिदेओस् भन्ने हुन्छ । तर, सरकारसँग त्यो सामर्थ्य नहुने भएकाले जनतालाई आफैं सक्षम बन्न सिकाउनुपर्ने’ धारणा प्रधानमन्त्री ओलीले व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने पनि बताए ।

सरकार सुशासनमा दृढ रहेको भन्दै उनले सबै मन्त्री तथा सचिवहरुलाई यसको प्रत्याभूति दिनसमेत निर्देशन दिए ।

‘सरकार भ्रष्टाचारप्रति शून्य सहनशील छ । त्यसकारण साथीभाइ, कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नोस्’–प्रधानमन्त्री ओलीले भने ।