१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


प्रदेश नम्बर–५ को नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

‘समृद्ध प्रदेश खुसी जनता’को लक्ष्यसहित प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सरकारका तर्फबाट प्रदेशप्रमुख उमाकान्त झाले नीति कार्यक्रम प्रस्तुत् गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेका बेला प्रदेश सरकारले पनि त्यस्तै खालको नारा तय गर्दै आफ्नो नीति सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको लक्ष्य ‘समृद्ध प्रदेश खुसी जनता’लाई पछ्याउने गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने, युवाश्रम शक्तिलाई नेपालमै रोजगारी उपलब्ध गराउने, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा रोजगारीका अवसरहरु सिर्जना गर्ने उल्लेख छ ।

यस्तै, साधान–स्रोतको अधिकतम् प्रयोग गरी आगामी पाँच वर्षभित्र प्रदेशलाई, कृषि, उद्योग, पर्यटन र रोजगारीको केन्द्रकारूपमा विकास गरी नमुना प्रदेशका स्थापित गर्ने नीति लिइएको छ ।

आगामी पाँच वर्षभित्र प्रदेशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाइ रोजगारीका लागि विदेश पलायन हुने युवाशक्तिलाई रोक्ने लक्ष्य लिइएको छ ।
प्रदेश सरकारले स्वास्थ्य, औसत आयु, शिक्षा, रोजगारलगायतलाई आधार मानेर मानव विकास सूचकांकमा पछाडि परेका गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सन्चालन गर्ने घोषणा पनि गरिएको छ ।

यस्तै, भैरहवा, बुटवल नेपालगन्ज, कोहलपुर र घोराहीमा विद्युतीय बस सेवा सन्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, नेपालगन्ज, कोहलपुर, घोराही, बुटवल, भैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर तीन महानगरको स्थापना गर्ने, प्रदेशलाई एक वर्षभित्र साक्षर घोषणा गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।