१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


क्याम्पसमा लगाइएको ताला ५ महिनासम्म पनि खुलेन


0
Shares

सप्तरी, जेठ २६ । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा पाँच महिनाअघिदेखि गरिएको अनिश्चितकालीन तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक काम प्रभावित भएको छ ।

क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध गर्दै गत माघ २१ गते प्राध्यापकहरुले क्याम्पसको मूलगेटमै तालाबन्दी गरेका थिए ।

तर पछि उनीहरुले विद्यार्थीहरुको पठनपाठन र परीक्षा प्रभावित हुने भएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

यसले क्याम्पसको प्रशासनिक काम प्रभावित भएको छ ।

आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस एकाइ संघर्ष समितिले २०१४ सालमा स्थापित क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसको रुपमा रहने गरी सरकारी निर्णय सच्याउन माग गर्दै आएको छ ।

त्रिविअन्तर्गत रहेका जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णय सरकारले गरेको थियो ।