
काठमाडौं, जेठ २६ । स्वीडेनको राष्ट्रिय दिवसको अवसर पारेर गैर-आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनले नेपाली पोशाक प्रदर्शनी गरेको छ ।
स्टकहोल्ममा गरिएको कार्यक्रममा ‘कल्चर फेस्टिबल’मा नेपाली संस्कृति झल्किने विभिन्न जनजातिका भेषभुषाको नेपाली पोशाक प्रदर्शनी गरिएको थियो ।
स्वीडेनमा रहेका बिभिन्न समुदायहरुले भाग लिएको सो कार्यक्रममा गैरआवासीय नेपाली संघलाई आफ्नो प्रस्तुतिको लागि समय दिइएको थियो ।
कार्यक्रममा संघका सचिब राजकुमार पाठकले नेपालको भेष–भुषा, भाषा–संस्कृति, रहनसहन, रितिरिवाज आदिको बारेमा स्वीडिस भाषामा जानाकारी गराएका थिए ।
उनले नेपाल भौगोलिक दृष्टिकोणले जतिसुकै सानो भएपनि भाषिक र साँस्कृतिक दृष्टिकोणले विश्व मानचित्रमा एक सम्पन्न देशको परिचय बनाएको चर्चा गरे ।
साथै उनले नेपाल विभिन्न जातजातिहरुको एक साझा फुलबारी हो भनि चिनारी गराए । गौतम बुद्धलाई जन्म दिने नेपालको प्राकृतिक सौन्दर्य परिचय दिलाउँदै उनले नेपाल घुम्न जान प्रेरित समेत गरे ।
उक्त अवसरमा मन्तब्य पछि लाइनबद्ध रुपमा नेपालको जनजातिहरुको पोशाक पहिरन प्रदर्शनका साथै पहिरनको ब्याख्या समेत गरिएको थियो ।
जसमा क्रमशः शेर्पाको पोसाकमा प्रविन श्रेष्ठ र बिनु क्षेत्री, मगरको पोसाकमा घनश्याम पुन र पुष्पा पुन, गुरुङको पोसाकमा कुमार गुरुङ, मित्रु गुरुङ र एलिन गुरुङ थिए ।
साथै नेवारको पोसाकमा ध्रुब क्षेत्री र सरिता ढकाल, थारुको पोसाकमा रामचन्द्र गौतम र श्रीमाया पाईजा, ब्रम्हाणको पोसाकमा प्रबेश कुँवर र अम्बिका सिग्देल, लिम्बुको पोसाकमा अर्जुन कुमार श्रेष्ठ र उषा गौतम सहभागि थिए ।
तामाङको पोसाकमा भने लक्ष्मण खड्का र शर्मिला पाईजाबाट प्रदर्शन गरिएको थियो । कार्यक्रमको अन्त्यमा लोकप्रिय मारुनी नृत्य देखाईएको थियो ।
दिया श्रेष्ठ, सृजना तामाङ, अम्बिका खनाल र कुशुम आचार्यले प्रस्तुती दिएको नृत्यलाई सयौं सहभागिहरुले चाख मानेर हेरेका थिए ।
कार्यक्रममा उपस्थिति जनाउनेहरुलाई एनआरएनएले विशेष धन्यवाद ब्यक्त गरेको एनआरएनएका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्