
-प्रतिक्षा खनाल र नवीन स्थापित(ईमेज):
काठमाडौं, जेठ २७ । काठमाडौं देशकै राजधानी हो । यहाँको हरेक क्रियाकलापमा मुलुककै मुहारको प्रतिबिम्व आउनुपर्छ ।
तर त्यसको साटो काठमाडौं महानगरपालिकाका सडक र चोकहरु छाडा चौपायाको आश्रयस्थल जस्ता देखिन्छन् ।
छाडा छोडिएका यस्ता चौपायाकै कराण सडकमा आवतजावत नै प्रभावितसमेत हुने गरेको छ । जसले सडक दुर्घटनाको जोखिम पनि बढाएको छ ।
यसरी सडकमा यत्रतत्र छाडिएका चौपाया देख्दा काठमाडौं शहरको व्यवस्थापन कस्तो छ भन्ने एक झलकमै अनुमान लगाउन सकिन्छ ।
देशकै राजधानी, त्यसमाथि महानगरपालिका । काठमाडौं महानगरपालिका र राजधानीको अनुहार यस्तै दृश्यका अतिरिक्त पानी नपर्दा धुँवा धुलो र पानी पर्दा हिलोको अहालमा प्रतिबिम्वित हुने गरेको छ ।
यसरी सडकमा छाडा छाडिएका चौपायाले सडक दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढाइरहेको छँदैछ । गत वर्ष मात्रै छाडा चौपायाकै कारण भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी काठमाडौंको दावी छ ।
शहरभरी यस्ता दृश्य देखिएपनि सरोकारवाला निकाय काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने सडकबाट दैनिक रुपमा छाडा चौपाया उठाउने गरेको दावी गरे ।
गत वर्ष २ सय ८८ वटा छाडा चौपाया नियन्त्रण गरी लिलामी गरिएको महानगरले जनाएको छ ।
घरपालुवा चौपाया पनि दैनिक रुपमा सडकमा छाडिने तथा त्यसलार्य उठाउने गाडी भने थोत्रा भएकाले पनि समस्या समाधानमा कठिनाई भएको कार्कीको तर्क छ ।
चौपायाका धनीहरु पनि चराउन नाममा सडकमा त्यत्तिकै छाड्ने गर्दछन् । अझ दूध आउन छाडेपछि थारा गाई र बाच्चाहरु रातारात सडकमा ल्याएर छाड्ने प्रवृत्ति महानगरवासीको छ ।
छाडा चौपायाले आवतजावत र दैनिकीमा असर गर्ने गुनासो गर्ने सर्वसाधारण त्यस्ता चौपायालाई सडकमा छाड्नेलाई कडा कारबाही गर्न माग गर्दछन् ।
छाडा चौपायाले एकातिर दुर्घटना त बढाउँछ नै, यो एउटा मानवीय पक्ष पनि हो ।
दूध आउन्जेल दूध खाने, थाकेपछि वा बुढो भएपछि गाई र बाच्च्छालाई सडकमा छाड्नुले हामी कस्तो संस्कार निर्माण गर्दैछौं भन्ने पनि हो ।
प्रतिक्रिया दिनुहोस्