गोपाल पोखरेल (इमेज)
विराटनगर, असार ४ । प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा समेत कस्टपूर्ण ‘क्वारेन्टिन’ छन् भन्दा पत्याउन गाह्रो हुन्छ ।
तर, क्वारेन्टिनमा बस्नेहरुको कस्टको कथा सुन्नुपर्दा नपत्याइरहन सकिने अवस्था भने छैन ।
जति–जति वर्षा लाग्दैछ, त्यति–त्यति नै प्रदेश नम्बर–१ को राजधानीमा निर्माण भएका क्वारेन्टिनमा समेत जोखिम बढ्दैछ ।
बल्ल–तल्ल निर्माण भएका क्वारेन्टिन पनि कोरोनाका शंकास्पद बिरामी बस्नका लागि अयोग्य छन् ।
प्रदेशको खर्च काटेर जसको लागि भनेर बनाइएको क्वारेन्टिन बस्नेहरुले नै असुरक्षित महसुस गरेपछि त्यसको उपदेयता नै के रह्यो ?
क्वारेन्टिनमा बस्नेहरुले अव्यवस्थित क्वारेन्टिनका कारण उल्टै कोरोना संक्रमणको जोखिम बढेको महसुस गर्न थालेका छन् ।
प्रदेशमा भारतलगायत तेस्रो मुलुकबाट फर्किएका र कोरोना संक्रमण भएको भनिएका शंकास्पद गरी झन्डै ११ हजार ८७० जना क्वारेन्टिनमा छन् । यहाँ निर्माण भएका ४२१ क्वारेन्टिनमध्ये प्रायः सबैको हविगत उस्तै नै छ ।
क्वारेन्टिनको यस्तो हालतले गर्दा आफूमा संक्रमण नभएपनि उल्टै क्वारेन्टिनबाट संक्रमित हुने डर छ, उनीहरुलाई ।
यस प्रदेशमा कोरोना संक्रमितको संख्या ४१६ पुगेको छ । उपचार भएर निको हुनेको संख्या मात्र १८४ छ । बाँकी २३१ जना अस्पतालमा उपचार गराइरहेका छन् ।
सरकारले अहिलेसम्म १५ हजार ४३८ जनाको स्वाब परीक्षण गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुको जति बढी स्वाब परीक्षण गर्यो, त्यति नै संख्यामा कोरोना संक्रमित पनि बढिरहेका छन् ।
प्रदेश–१ का १३ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने एउटामात्र ओखलढुंगा भने कोरोनाबाट मुक्त छ ।
प्रदेश राजधानीमै क्वोन्टिनको यस्ते हालत हुँदा अन्य जिल्लामा क्वारेन्टिनको हविगत कस्तो होला ? अनुमान लगाउन गाह्रो छैन ।
क्वारेन्टिनमा बस्नेहरुको यस्तो कथा सुन्दासमेत प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई भने अलिकति पनि बिझेको छैन ।
बरु, उल्टै सहजैसँग आफ्नो प्रदेशको समुदायमा संक्रमण नभएको भन्दै ‘टेस्ट’ नै नगरी हाइसन्चो मानिरहेका छन् ।
प्रदेश–१ मा कोरोना संक्रमितको संख्या बढिरहेको बेला अव्यवस्थित क्वरेन्टिनले निम्त्याउने खतरालाई चाँडै मुक्त गर्नुपर्ने देखिन्छ ।
त्यसैलेपनि जसका लागि क्वारेन्टिन निर्माण गरिएको हो, उनीहरुको सुझावलाई मध्यनजर गर्दै स्थानीय र प्रदेश सरकारले अग्रसरता लिएर व्यवस्थित र मापदण्डयुक्त क्वारेन्टिनमा ध्यान दिनु जरुरी देखिन्छ ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्