अक्कल कुँवर/राजेन्द्र नापित (इमेज)
काठमाडौं, कात्तिक १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गर्यो ।
चियापानमा नेकपासहित विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, सर्वसाधारणलगायतको उपस्थिति थियो ।
सामाजिक सद्भावकारुपमा मनाइने दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसर पारेर सर्वप्रथम नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले चियापान कार्यक्रमको सुरुआत गरेका थिए ।
पछिल्लो समय अन्य राजनीतिक दलहरुले पनि यी पर्वहरुका अवसरमा चियापान कार्यक्रम गर्ने परम्पराको अनुशरण गरिरहेका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टीले पनि दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौंको भृकुटीमन्डपभित्र रहेको बगैंचामा आयोजना गरिएको चियापान कार्यक्रममा आयोजक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।
स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली अनुपस्थित भएपछि पाहुनाहरुलाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले स्वागत गरेका थिए ।
नेकपाका महासचिव विष्णु पौडेलले सद्भाव, एकता र मेलमिलापको भावना राखेर चियापान आयोजना गरिएको प्रतिक्रिया दिए ।
चियापानमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले चाडपर्वको अवसरमा आयोजना गरिने यस प्रकारका चियापानले फरक विचार बोकेका पार्टीहरुबीच पनि सद्भावको अवसर हुने प्रतिक्रिया दिए ।
चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य राजनीतिक दलका नेताहरु पनि सहभागी भएका थिए ।
यस्तै, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी पनि सहभागी भए ।
चियापानमा निमन्त्रणा गरेपनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, स्वतन्त्र मधेस अभियानका संयोजक सीके राउत भने अनुपस्थित थिए ।
चियापानमा नेपाल भ्रमणमा रहेका भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरी उपस्थित रहेपनि नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी भने अनुपस्थित थिए ।
चियापानमा सहभागीहरुलाई समोसा, मिठाइ, केरा, चिया र कफी खुवाइएको थियो ।
मध्याह्न १२ बजेदेखि साँझ ५ बजे चलेको चियापानलाई दुई चरणमा विभाजन गरिएको थियो ।
मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी कार्यकर्ता र सर्वसाधारणलाई आमन्त्रण गरिएको थियो भने दिउँसो ३ बजेदेखि राजनीतिक दलका नेता, विदेशी कूटनीतिक नियोगका प्रमुख, सांसद र विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको थियो ।
चियापानका लागि नेकपाले ५० हजारभन्दा बढीलाई निमन्त्रणा गरेको थियो ।
चियापान कार्यक्रमलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र भातृसंगठनका करिब ३०० स्वयंसेवक परिचालन गरिएको भनिएपनि व्यवस्थित देखिएको थिएन ।









प्रतिक्रिया दिनुहोस्