Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कांग्रेस प्रजातान्त्रिक तरिकाले चल्न सकेन : सिंह


0
Shares

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गरिने बताएका छन् ।

नेपाली कांग्रेस टोखा नगरपालिका–८, ९, १० र ११ वडाले शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले समयानुसार सबैलाई समेट्नेगरी विधान संशोधन गरिने बताएका हुन् ।

‘सिंगो जनतालाई बेवास्ता गरेर कुनै नेताका व्यक्ति अट्ने गरी विधान संशोधन गर्नहुँदैन’–उनले भने ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको कांग्रेस प्रजातान्त्रिक तरिकाले चल्न नसकेको आरोप लगाए ।

‘पार्टी विधि, विधानअनुसार चल्न सकेको छैन । विधानअनुसार पार्टी चल्न नसक्दा कमजोर भएको हो’–उनले भने ।

कांग्रेस नेता अर्जुनरसिंह केसीले अधिनायकवादी प्रवृत्तिले कांग्रेस चल्न नसक्ने बताए ।

‘नेता होइन नीति, व्यक्ति होइन विचार कांग्रेसभित्र आवश्यक छ’–उनले भने ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले काठमाडौं कांग्रेसको संगठन बलियो बनाउनका लागि आफू लागिरहेको बताए ।

उनले कांग्रेस अहिले लथालिंग अवस्थामा पुगेको भन्दै यसलाई एकढिक्का बनाउनका लागि नेता लाग्नुपर्ने विचार राखे ।

प्रदेश सांसद जीवन डंगोलले पार्टीले युवामुखी कार्यक्रममा जोड दिएमात्र आगामी दिनमा राम्रो जित हासिल गर्नसकिने बताए ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्टीभित्र प्रशिक्षणको खाँचो रहेको औंल्याइन् ।

कांग्रेस टोखा नगरपालिका–१० का अध्यक्ष तेजप्रसाद सेडाइँको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं कांग्रेस क्षेत्र नम्बर–६ का सभापति श्यामकृष्ण खड्गी, काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारी, कांग्रेस टोखा नपाका अध्यक्ष वसन्त श्रेष्ठ, टोखा नपा–११ का वडाध्यक्ष उत्तम अधिकारीलगायतले पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरी सुधारको बाटोमा अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । रासस