
काठमाडौं, असोज २३ । ‘बद्लिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ भन्ने नारासहित बुधबार (भोलि) विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्य राष्ट्रिय अभियान मिलेर यो दिवस मनाउन लागेका हुन् ।
मंगलबार राजधानीमा गरिएको कार्यक्रममा ५० प्रतिशत युवामा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको दाबी गरियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. वासुदेव कार्कीले प्रत्येक चारजनामा एकजनालाई मानसिक रोगको समस्या देखिने र प्रत्येक पाँचजना किशोर–किशोरीमध्ये एकजनामा मानसिक रोगको समस्या देखिने गरेको दाबी गरे ।
यस्तै, बालमनोरोग विशेषज्ञ डा. अरुण कुँवरले मानसिक रोग युवाहरुमा बढी देखिन थालेको भन्दै सानोतिनो कुराले नै उनीहरुलाई असर गर्ने हुँदा युवा अवस्थालाई बढी ख्याल राख्नुपर्ने बताए ।
बढी चिन्ता लिने, धेरै सोच्ने र सानो–सानो कुरालाई पनि ठूलो बनाएर सोच्ने बानीले समस्या ल्याउनसक्ने चिकित्सकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्