
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई राम्ररी पढ्न सुझाएका छन् । सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरिएको गुनासो पनि उनले गरे ।
राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘मैले एमसिसी पढेको मान्छे भेटिन । खोजेर पढे हुन्छ । पढ्नभन्दा विरोध गर्न तम्सिएका छन् । खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँडिएको छ ।’
एक वर्षअघि संसदमा पेश गरिएको अमेरिकी सहयोग एमसिसी नेकपाभित्रको विरोधकै कारण अनुमोदन हुन सकेको छैन । नेकपामा ओलीबाहेकका शीर्ष नेता एमसीसी जस्ताकातस्तै पारित गर्न नदिनेमा एकगठ भएका छन् ।
नेकपाकै नेताहरुलाई कटाक्ष गर्दै ओलीले कागले कान लगे नलगेको नछामी लहलहैमा नलाग्न सुझाउँदै भने, ‘कागले कान लग्यो भनेर छाम्दै नछामी लहलहैमा लागिएको छ । यो सडकको विषय पनि बनेको छ । अन्यको विषयमा पनि बनेको छ ।’
एमसिसीको विरोध गर्नेहरु विकास विरोधी हुन् भन्दै उनले थपे, ‘सम्झौतामा के छ पढे हुन्थ्यो नि। देशमा विकासमा हुने भो । अनुदान आउने भो भन्ने चिन्ता लागेको हो । हामी जनप्रतिनिधिहरुले बोलेको कुरा रेकर्ड रहन्छ विचार गरेर बोल्नुपर्छ ।’
अमेरिकाले एमसिसी परियोजनामार्फत् दिने ५५ अर्ब रुपैयाँ नेपालले पाँच वर्षभित्र ऊर्जा प्रशारण लाइन र सडकमा बनाउने तयारी गरेको छ ।
महाकाली सन्धिमा देश बेचिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री ओलीले ५५ वर्षे राजनीतिक जीवनमा कहीँकतै देशको हित विपरीत काम नगरेको भन्दै बचाउमा उत्रिए ।
ओलीले भने, ‘महाकाली सन्धि ठीक छ । मत केही बेठीक देख्दिन । हामी सरकारकमा नभएको पार्टीसमेत सहभागी भएको हो । सही छ, ठीक छ भनेर सही गरिएको हो । प्रणव मुखर्जीले हस्ताक्षर गर्ने बेला कलम समातेपछि पनि सोधेका थिए । त्यो बेला मुखर्जीलाई ठीक छ भन्नेहरु नै पछि बुरुक्क गरे । त्यसबेला मैंले सोधे कतै गाँजा खाएर सही गरेको छ होइन ?’
प्रतिक्रिया दिनुहोस्