
बिराज रोस्यारा (इमेज)
कैलाली, असार ४ । सुदूरपश्चिम प्रदेशमा थप १३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘पीसीआर’ परीक्षणमा बैतडीका २५, अछामका २९ र डडेल्धुराका ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयहरुले जनाएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर ‘क्वारेन्टिन’मा बसेका २५ जनाको पीसीआर ‘रिपोर्ट पोजिटिभ’ आएको जानकारी दिए । उनीहरुको ‘आरडीटी’ रिपोर्ट पनि पोजिटिभ आएको थियो ।
दशरथचन्द नगरपालिकाका १० जना, सिगास गाउँपालिकाका छजना, पञ्चेश्वर गाउँपालिकाका चारजना, सुर्नया गाउँपालिकाका तीनजना र पाटन नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित २५ जनामध्ये दुईजना महिला र २३ जना पुरुष रहेका छन् । योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाकाअनुसार मेल्लेख गाउँपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा छजना नयाँ संक्रमित फेलापरेका छन् । योसँगै अछाममा संक्रमितको संख्या ५१ जना पुगेको छ ।
यस्तै, डडेल्धुरामा थप ८३ जनामा कोरोना पुष्टि भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए । संक्रमितको स्थानीय तह भने खुलेको छैन ।
सुदूरपश्चिममा एउटामात्रै प्रयोगशाला र स्वाबको चाप बढ्दै गएपछि दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।





प्रतिक्रिया दिनुहोस्