३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


सरकारलाई जसरी पनि बदनाम गराउने खेल भयोः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार ४ । सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच राखेर विरोध हुन थालेको भन्दै प्रधानमन्त्री केपी ओलीले आपत्ति जनाएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो सोच नराख्न आग्रह गर्दै यही भावनाले कोरोनामा भएको खर्चसम्बन्धमा बिरोध भइरहेको आरोप लगाए ।

कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बको हिसाब माग्नेहरुप्रति लक्षित गर्दै उनले यो विषयलाई अनावश्यक रुपमा उछालिएको टिप्पणी गरे । पस्थिितिको गम्भीरतासमेत ख्याल नगरिएको उनको गुनासो थियो ।

राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘दश अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’

खर्चको विवरण थप्दै ओलीले स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको जवाफ दिए । यस्ता सवाल उठाएर स्थानीय जनप्रतिनिधिहरुको अपमान गरिएको पनि उनको भनाइ थियो ।

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, ‘मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’