Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


प्रचण्डको आरोपः सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथि भइरहेका चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गर्नुभएको छ ।

उहाँले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा आफूहरू सरकार गठन र विघटनको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजनाअन्तर्गत राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र गरिरहेको विषयमा पर्याप्त ध्यान दिन नसकेको बताउनुभएको हो । दाहालले शान्ति सम्झौता, गणतन्त्र, संघीयता, समावेशिता र संविधानसभाबाट संविधान निर्माण हुन नदिन चाहने शक्तिहरू विगतदेखि नै सक्रिय रहेको जिकिर गर्नुभयो । आफूहरूले पटकपटक सचेत गराउने प्रयास गरे पनि राज्य संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक लिन नसकेको उहाँको आरोप छ ।

सरकारमा रहेकाहरूले समेत देशमा विकसित राजनीतिक घटनाक्रमको पूर्वानुमान गर्न नसकेको भन्दै उहाँले दुई तिहाइ बहुमतको दाबी गरिरहेको सरकारका प्रधानमन्त्रीले बालुवाटार छाड्नुपर्ने अवस्था आउनु राज्य संयन्त्रको कमजोरी भएको टिप्पणी गर्नुभयो । दाहालले पछिल्लो राजनीतिक परिस्थितिमा जनताले आन्दोलन र बलिदानबाट प्राप्त गरेका सार्वभौम अधिकार तथा समावेशी प्रतिनिधित्वको अधिकारमाथि प्रहार भइरहेको आरोप लगाउनुभयो ।

उहाँले नयाँ सरकारबाट जनताका अधिकारमाथि निरन्तर हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै मजदुर, किसान, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकसमेतलाई आतंकित पार्ने तथा दमन गर्ने काम भइरहेको बताउनुभयो । वर्ग संघर्ष विश्वव्यापी रूपमा जारी रहेको उल्लेख गर्दै दाहालले वर्तमान सरकार मजदुर, किसान र नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अलि बढी सरकार गिराउने, बनाउने चलखेलमा बढी ध्यान दिऔँ । हाम्रो गल्ती त्यहीँ भयो । प्रतिक्रियावादीहरु जो हिजो, शान्ति सम्झौता हुन नदिने, देशमा गणतन्त्र, संघीयता, समावेशिता आउन नदिने, देशमा संविधान सभापछि निर्वाचन हुन नदिने, जो पंक्तिहरु थिए, तिनीहरु चुप लागेर बसेका थिएनन् । बरु उनीहरु ग्राण्ड डिजाइनअन्तर्गत, एउटा लामो योजनाअन्तर्गत नेपालका, नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मनिर्णयको विरुद्ध षड्यन्त्र गरि नै रहेका थिए । हामी एक हदसम्म बेखबर जस्तै भयौँ । हामीले सचेत गराउने प्रयास गरि नै राख्यौँ तर राज्यमा भएका त झन अन्धा र बहिरा नै भएका रहेछन् । सरकारमा भएकाहरुलाई आज के भयो र भोलि के हुँदैछ भन्नेकुराको केही पनि जानकारी नहुनु, दुर्भाग्यपूर्ण कुरा भयो, प्रधानमन्त्रीले तथाकथित दुई तिहाईको कुरा गर्दागर्दै बालुवाटारबाट भाग्नुपर्ने स्थिति आउनु आफैँमा कम दुर्भाग्यपूर्ण कुरा होइन । कति धेरै अन्धो र कति धेरै बहिरो भएको रहेछ त हाम्रो राज्य संयन्त्र । अहिले हामी के सोचिरहेका छौँ भने प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिसँग वर्ग संघर्ष विश्वव्यापरी रुपमा फेरि पनि चलिरहेकै छ । अहिले पनि जो नयाँ तथाकथित सरकार भनेर आएका छन्, उनीहरुको प्रहारको निशाना एकतारित त जनताले प्राप्त गरेको सार्वभौम अधिकार, उनीहरुले प्राप्त गरेको समावेशिताको प्रतिनिधित्वको अधिकार माथि प्रहार गर्ने लगातार कोशिस भइरहेको छ । अर्कोतिर निम्न वर्ग, मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी, शिक्षक, सबैलाई कुनै न कुनै रपले आतंकित पार्ने र दमन गर्ने काम भइरहेको छ । त्यसैले यो सरकार मजदुर किसान र नेपाली जनताको, हिजो, आन्दोलन र बलिदानबाट प्राप्त भएका अधिकारहरु खोस्नतिर उद्यत छ ।’

संयोजक दाहालले नेकपाले अब तत्काल मात्रै नहेरी दीर्घकालीन रुपमा राष्ट्रिय रुपमा संयुक्त मोर्चा बनाएर अघि बढ्ने जरुरी रहेको बताउनुभयो । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामलाई क्षणिकको आँधीको संज्ञा दिँदै सदावहार भइ नरहने बताउनु भयो । राज्य संयन्त्र आतंक सिर्जना गरेर चलिरहेको उहाँको जिकिर छ ।