Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेपालको भूमिलाई छिमेकीविरुद्ध सैन्य अखडा बन्न दिनुहुँदैनः माधवकुमार नेपाल


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनैपनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताउनुभएको छ ।

उहाँले नेपालको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गर्नुभयो । यसप्रति पार्टीका नेता तथा कार्यकर्ताहरू सचेत र सतर्क हुनुपर्ने उहाँको भनाइ छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेपालको भूमि कुनैपनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनुपर्ने र प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा पनि देशलाई विवादमा पार्न नहुने बताउनुभयो ।

उहाँले नेपालको भौगोलिक अवस्थाले समेत असंलग्न परराष्ट्र नीतिको आवश्यकता निर्देशित गरेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्वपूर्ण भुमिका रहेको बताउँदै आन्दोलनबिना परिवर्तन सम्भव नहुने बताउनुभयो । आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले पार्टी निर्माण र संगठन विस्तारका लागि योग्य तथा सक्षम कार्यकर्ता तयार गर्नुपर्नेमा जोड दिँदै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टीको स्कुल विभाग र सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । पार्टी निर्माणका लागि कार्यकर्ता प्रशिक्षणको महत्वपूर्ण भुमिका रहने भन्दै उहाँले त्यसका लागि समन्वय गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपालले भन्नुभयो, ‘राष्ट्रियताको कुरालाई हामीले सबैभन्दा उच्चतम प्राथमिकता दिइरहेका छौँ । राष्ट्रियता संकटमा छ । विदेशी शक्तिहरुले नेपालमा वक्रदृष्टि लगाइरहेका छन् । यसप्रति हाम्रो पार्टी र हाम्रो पार्टीका कार्यकर्ताहरु सबैभन्दा पहिला अत्याधिक शतर्क हुनुपर्छ । नेपालको भूमिमा कसैले पनि वक्र दृष्टि नलगाओस् । नेपालको भूमिलाई छिमेकीका विरुद्धमा र आफ्नो सैन्य गतिविधि गर्ने अखडाको रुपमा प्रयोग गर्ने काम कसैले नगरोस् । नेपालको विभिन्न साधन श्रोतको प्रयोग गर्ने सन्दर्भमा पनि कुनै विवादमा नेपाल नपरोस् । असंलग्न परराष्ट्र नीति नेपालले जुन अपनाएको छ, त्यो भूगोलले पनि निर्देशित गरेको छ । दुवै छिमेकीसँगको सम्बन्ध सुमधुर होस् । विगत इतिहास हेर्ने हो भने आन्दोलनले नै वास्तवमा परिवर्तन ल्याएको छ । आन्दोलन बिना परिवर्तन सम्भव छैन । आन्दोलनले नै जनतामा चेतना र जागरण सिर्जना गरेको छ । त्यसैले हामीले जनपरिचालन गर्नेकुरा छ । पार्टी परिचालन, पार्टी निर्माण गर्ने कुरालाई हामी महत्व दिन्छौँ । पार्टी निर्माणका लागि राम्रा कार्यकर्ता तयार गर्दछौँ । यसमा प्रशिक्षणको पनि त्यत्तिकै ठूलो महत्व छ । पार्टीको स्कुल विभागले पनि, तपाईंहरुले पनि समन्वय गरेर प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

सहसंयोजक नेपालले नेपाल सगरमाथा र बुद्धको देश भएको बताउनुभयो । बुद्धको शान्तिको सन्देश संसारमा संप्रोषण गर्न आवश्यक रहेको बताउनुभयो । नेपालको गौरवशाली इतिहासबारे विश्व मञ्चमा बुझाउन जरुरी रहेको बताउनुभयो । जनताको हितमा समर्पण हुने पार्टी कम्युनिष्ट पार्टी नै रहेको दाबी गर्नुभयो ।