Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


ईन्द्र बानियाँमाथी अनावश्यक प्रतिशोध साँध्न खोजियोः काँग्रेस


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं वागमती प्रदेशका काँग्रेस सभापति ईन्द्र बानियाँलाई अनावश्यक विवादमा मुछ्न खोजेको आरोप लगाउनुभएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो आरोप लगाउनुभयो । महामन्त्री पौडेलले अनुमानको र हल्लाको भरमा कसैलाई दोषी करार गर्न नमिल्ने बताउनुभयो । तर पछिल्लो समय सरकारले राज्यशक्तिको दुरुपयोग गर्दै राजनीतिक आवद्धताका आधारमा छानिछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखाएको आरोप लगाउनुभयो ।

कानूनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै उहाँले अपराधमा संलग्न जोसुकै व्यक्ति जुनसुकै राजनीतिक दल वा शक्तिसँग आवद्ध भएपनि कानूनी प्रक्रियामा आउनुपर्ने बताउनुभयो । तर सरकारको विरोधी भएकै आधारमा अपराध नगरेको व्यक्तिलाई जबर्जस्ती अनुसन्धानको दायरामा तान्नु र सरकारनिकट व्यक्तिलाई संरक्षण गर्नु राज्यशक्तिको दुरुपयोग भएको उहाँको भनाई छ । उहाँले काँग्रेसका प्रदेश सभापति इन्द्र बानियाँमाथि भएको व्यवहारलाई समेत चयनात्मक अनुसन्धान भएको दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीको सचिवालय र मुख्य सल्लाकारसँग जोडिएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का अन्त्य प्रकरण तथा हिरासतमा रहेका व्यक्तिको मोबाइल कब्जा प्रकरणमा सरकारले अनुसन्धान नै नगरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कानून भन्दा माथि कोही छैन । कानून विपरित काम गर्ने वा अपराधमा संलग्न हुने जो कोही व्यक्ति जुनसुकै पार्टी, पक्ष वा शक्तिसँग आबद्ध भएपनि कानुनसम्मत प्रक्रिया अनुसार अनुसन्धान र कारबाहीको दायरामा आउनुपर्छ । तर सरकारको विरोधी भएकै कारण अपराध नगरेको व्यक्तिलाई जबर्जस्ती अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग हो । कसैलाई अनुसन्धान गरेर पनि छाड्ने कसैलाई जबर्जस्ती अनुसन्धानमा लाने हाम्रो प्रदेश सभापति इन्द्र बानियाँमाथि त्यस्तो भएको स्थिति छ । कोही सरकारको विरोधी छ भन्दैमा हल्ला र आशंकाका आधारमा उसलाई अपराधी करार गर्नु गलत हो । तर सरकारसँग निकट भएकै कारण अपराधमा संलग्न व्यक्तिको उन्मुक्ति र संरक्षण पाउँछ भने त्यो पनि राज्यशक्तिको दुरुपयोग हो । दुर्भाग्यवश सरकारका पछिल्ला गतिविधिले राज्यशक्तिको यस्तै चयनात्मक प्रयोग भइरहेको छ । सरकारले आफ्नो आदेशलाई कानून र राज्यका निकायलाई आफ्नो सचिवालय जस्तो ठान्ने प्रवृत्ति देखिएको छ । कानूनको निष्पक्ष र पारदर्शी कार्यान्वयनको सट्टा व्यक्तिको राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा छानिछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखिएको छ । सुनकोशी मरिण मरिण डाइभर्सन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षता माथि गम्भीर प्रश्न उठाएको छ । यस्ता थुप्रै घटनाहरू भएका छन् । प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप गरिएको छ भन्ने आरोप आफैँमा अत्यन्त गम्भीर छ । कांग्रेसको मागः यी प्रकरणहरूको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान हुनुपर्दछ । अनुसन्धानमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुनुहुँदैन । दोषी देखिएका जोसुकैलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्दछ । राज्यका अनुसन्धानकारी निकायहरूको व्यवसायिक स्वतन्त्रता सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

उहाँले हिरासतमा रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएकोप्रति पनि आपत्ति जनाउनुभयो । हिरासतमा रहेका व्यक्तिलाई अनावश्यक रुपमा दबाब दिएर आफूअनुकुल बयान दिन लगाएको घटना सार्वजानिक भएको उल्लेख गर्दै उहाँले यस्तो कार्य राज्यशक्तिको गम्भिर दुरुपयोग भएको बताउनुभयो ।

सरकारले आफ्ना राजनीतिक विरोधीमाथि कानून प्रयोग गर्ने र निकटस्थलाई संरक्षण गर्ने नीति लिएको उहाँको भनाई छ । उहाँले राज्यका निकायहरूको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न, अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न र दोषी देखिएका जोसुकैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो मात्रै अर्को एउटा नयाँ घटना थपिएको छ । जेलभित्र, हिरासतमा रहेको व्यक्तिलाई यो बयान दिने भए देऊ नत्र तिम्रो ज्यान खतरामा छ । तिम्रो परिवारको ज्यान खतरामा छ, तिमीहरू असुरक्षित छौ । सुरक्षित बन्ने हो भने यी यी मान्छेलाई पोल । तिम्रो बयानभित्र यी मान्छेहरूलाई जोड, यसरी बयान देऊ । राज्य शक्तिको दुरुपयोग यो भन्दा बढी के गर्दा हुन्छ? सरकारलाई कांग्रेसको प्रश्न छ, प्रधानमन्त्रीको समूहमा रहेका व्यक्ति र सत्तारुढ दलका लागि एउटा कानुन अनि अरु नागरिकका लागि अर्को कानून हो? सरकारले आफ्ना विरोधीमाथि कानुन प्रयोग गर्ने र आफ्ना निकटस्थलाई कानुनबाट संरक्षण गर्ने हो ? विधिको शासन कहाँ रहन्छ ? यस्तो बाटोबाट सरकारले कस्तो सुशासन स्थापन स्थापित गर्न खोजेको ?’

सरकारको संविधान, संसद, विधिको शासन र राज्यका निकायमाथिको हस्तक्षेप नरोके काँग्रेस अब मौन नरहने उहाँले बताउनुभयो । नयाँ नेतृत्वको अनुभव अभावका रूपमा बुझेर कांग्रेसले संयमता अपनाएपनि सरकारका पछिल्ला गतिविधिले ती कमजोरी सामान्य नभई नेतृत्वको सोच, चरित्र र प्रवृत्तिसँग जोडिएको आशंका उत्पन्न भएको उहाँको भनाई छ ।

काँग्रेसले पछिल्लो समय संसद्लाई छलेर ल्याएका अध्यादेशहरु पनि फिर्ता गर्न माग गरेको छ । काँग्रेसले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । त्यस्तै, काँग्रेसले संसदको अधिवेशन आह्वान गर्न तथा संवैधानिक सीमा र संस्थागत मर्यादा पूर्ण रूपमा पालना गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेसले सरकारले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अंगमाथि हस्तक्षेप र नियन्त्रणको प्रयास गरिरहेको पनि आरोप लगाएको छ । राष्ट्रपति जस्तो संवैधानिक संस्थाको गरिमामा समेत प्रधानमन्त्री बालेन्द्र साहले अवमूल्यन गर्ने गरेको काँग्रेसको आरोप छ ।