सुरेन्द्र भण्डारी, झापा। किसानलाई सहुलियत दरमा उपलब्ध गराउन सरकारले अनुदान दिएको रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्तिस्थित एक कृषि भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित संजीवनी कृषि भण्डारले खरिद गरेको अनुदानित मलमध्ये १५९ बोराको मौज्दात तथा बिक्री विवरण देखाउन नसकेपछि जिल्ला प्रशासन कार्यालयले जरिवाना गरेको हो ।
अनुदानित मल अनधिकृत रूपमा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रशासनको टोलीले मंसिर १० गते गरेको आकस्मिक अनुगमनका क्रममा उक्त अनियमितता फेला पारेको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार कृषि भण्डारका सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट दुई दिनको अवधिमा ४०० बोरा रासायनिक मल खरिद गरेका थिए । तर, अनुगमनका क्रममा गोदाममा २४१ बोरा मात्रै भेटिएको थियो ।
भण्डारले मंसिर ८ गते साल्ट ट्रेडिङबाट १७० बोरा युरिया र ६० बोरा डीएपी खरिद गरेको थियो । त्यसको भोलिपल्ट कृषि सामग्री कम्पनीबाट थप १७० बोरा डीएपी खरिद गरिएको थियो ।
यसरी कुल १७० बोरा युरिया र २३० बोरा डीएपी गरी ४०० बोरा मल खरिद गरिएको थियो । तर, गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी मात्रै भेटिएपछि बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपी गरी १५९ बोरा मलको हिसाब देखाउन भण्डार असफल भएको थियो ।
अनुदानित मलको बिक्री वितरणसम्बन्धी तोकिएका सर्त उल्लंघन गरेको पाइएपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए । प्रशासनले सञ्चालकलाई आवश्यक कारबाहीका लागि कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा भएको अनुगमनमा कृषि ज्ञान केन्द्रका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहभागी थिए ।
यसैबीच, सोही वडाको ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त सहकारीको मल खरिद, बिक्री तथा मौज्दात विवरण भने दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्