Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो


0
Shares

काठमाडाैं । नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कार्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको थियो ।

कार्तिक मसान्तसम्म विनिमय दरमा भएको परिवर्तनका कारण ४३ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको लाभसमेत समायोजन भएको प्रतिवेदनमा उल्लेख छ । कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण दायित्व जीडीपीको ४५.०८ प्रतिशत बराबर पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर कार्तिक मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो ।

ऋण प्राप्तिको अवस्था हेर्दा आन्तरिक ऋणतर्फ वार्षिक लक्ष्यको ३०.४९ प्रतिशत र वैदेशिक ऋणतर्फ ११.६२ प्रतिशत मात्र प्राप्ति भएको छ । कार्तिक मसान्तसम्म प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र बाह्य ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको छ ।

प्रतिवेदनले सरकारको सार्वजनिक ऋण परिचालनमा आन्तरिक ऋणको निर्भरता बढी रहेको देखाएको छ । वार्षिक लक्ष्यको तुलनामा चार महिनामा करिब एक चौथाइ मात्रै ऋण प्राप्ति भएको छ । वैदेशिक ऋण प्राप्तिको गति भने तुलनात्मक रूपमा सुस्त देखिएको छ ।