Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार, ७२ रनमै समेटियो टोली


0
Shares

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत पाकिस्तान ‘ए’विरुद्धको खेलमा नेपाली टोली ब्याटिङमा टिक्न नसक्दा ९६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको नेपालले १७।३ ओभरमै सबै विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो ।

नेपालको इनिङ्समा मयन यादवले केही समय क्रिजमा टिक्दै ४१ रन जोडे । ५० बल सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे । बसिर अहमदको नाममा ११ रन रह्यो भने देव खनालले आठ रन बनाए । बाँकी नेपाली ब्याटरले व्यक्तिगत स्कोर दोहोरो अङ्कमा पुर्‍याउन सकेनन् ।

नेपालको ब्याटिङ क्रम ध्वस्त पार्ने क्रममा पाकिस्तानका मोहम्मद हसनैन र सुफियान मुकिमले तीन–तीन विकेट हात पारे । मोहम्मद इमरान रन्धावाले दुई तथा माज सदाकतले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो । टोलीका लागि रोहेल नाजिरले सर्वाधिक ६४ रनको योगदान दिए । ८३ बल खेलेका उनी अविजित रहँदै चार चौका र तीन छक्का प्रहार गर्न सफल भए ।

त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए । पाकिस्तानलाई ठूलो योगफल बनाउनबाट रोक्ने क्रममा नेपालका राशिद खान सबैभन्दा प्रभावशाली बलर बने । उनले आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए । अभिषेक गौतमले दुई विकेट लिँदा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट आफ्नो नाममा गरे ।

तर, बलिङमा राम्रो प्रदर्शन गरेको नेपालले लक्ष्य पछ्याउने क्रममा भने कमजोर ब्याटिङ गरेपछि खेल पाकिस्तान ‘ए’को पक्षमा गएको हो ।