काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनको च्याम्पियन बन्न सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन्। उपाधि भिडन्तका लागि दुवै टोली कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उत्रिनेछन्। खेल अपराह्न ५ बजे सुरु हुनेछ।
अघिल्लो संस्करणको विजेता लुम्बिनी यसपटक पनि उपाधि आफ्नो पक्षमा पार्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। गत सिजन फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गरेर लुम्बिनीले पहिलो उपाधि उचालेको थियो।
यता, सुदूरपश्चिम भने यसपटक विगतका फाइनल हारको इतिहास बदल्ने दाउमा छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग उपाधि गुमाएको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि लुम्बिनीसँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो। त्यसैले यसपटक टोलीका लागि उपाधि जित्ने अवसरसँगै अघिल्ला दुई फाइनलको हारको बदला लिने चुनौतीसमेत छ।
दुई टोलीबीचको विगतको प्रतिस्पर्धालाई हेर्दा लुम्बिनी केही अघि देखिन्छ। एनपिएलमा अहिलेसम्म भएका पाँच खेलमध्ये लुम्बिनीले तीन खेल आफ्नो पक्षमा पारेको छ भने सुदूरपश्चिमले दुई खेल जितेको छ।









प्रतिक्रिया दिनुहोस्