काठमाडौं । नेपालीहरूको प्रमुख चाड तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यमपञ्चकको पहिलो दिन आज घरघरमा कागको पूजा आराधना गरी काग तिहार मनाइँदै छ।
कार्तिक कृष्ण त्रयोदशीका दिन पर्ने काग तिहारमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्ने धार्मिक मान्यता छ। यमराजको सन्देशवाहक मानिने कागलाई पूजा गरी खानेकुरा अर्पण गर्दा शुभ हुने विश्वासका साथ बिहानै घरको आँगन तथा छतमा खानेकुरा राख्ने परम्परा रहिआएको छ।
हिन्दु धर्मशास्त्रअनुसार कागले यमराजसम्म सन्देश पुर्याउने र त्यहाँबाट सन्देश ल्याउने जिम्मेवारी पाएको मानिन्छ। यमराजलाई मृत्युलोकका प्राणीहरूको जन्म र मृत्युको अभिलेख राख्ने देवताका रूपमा लिइन्छ। सोही अभिलेखसँग सम्बन्धित सूचना आदानप्रदानमा कागको भूमिका रहने पौराणिक विश्वास छ।
कागलाई सामान्यतया अशुभ समाचारको संकेतका रूपमा बुझिए पनि तिहारमा भने विशेष महत्त्वका साथ पूजा गरिन्छ। यस दिन कागलाई खाना नदिए अनिष्ट हुने तथा पाप लाग्ने धार्मिक जनविश्वाससमेत रहेको छ।
काग तिहारबाट सुरु हुने यमपञ्चकले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै आपसी सद्भाव, पारिवारिक एकता र आत्मीयताको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ।









प्रतिक्रिया दिनुहोस्