Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


राष्ट्रिय ख्रिष्टियन महासंघमा विवाद : अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी


247
Shares

काठमाडाैं । राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरिबहादुर गहतराजले महासंघको नाममा अनाधिकृत समूहले गैरकानूनी गतिविधि र जालसाजी गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गहतराजले संस्थाको विधानविपरित केही व्यक्तिले कीर्ते हस्ताक्षर र नक्कली कार्यसमिति खडा गरी संस्थाको साख गिराउने र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष गहतराजले महासंघको अनामनगरस्थित केन्द्रिय कार्यालयमा गत वर्ष भएको तोडफोड, लुटपाट र पदाधिकारीमाथिको साङ्घातिक आक्रमणको घटनाले संस्थाको वैधानिकतामाथि नै प्रहार गर्ने प्रयास भएको दाबी गर्नुभयो । उहाँकाअनुसार आक्रमणकारीहरूले महासंघका महत्वपूर्ण कागजात, ल्यापटप, क्यामेरा, छाप र लेटरप्याड कब्जामा लिई विभिन्न सरकारी निकाय तथा कूटनीतिक नियोगहरूमा दुरुपयोग गरिरहेका छन् ।

उहाँकाअनुसार महासंघलाई कमजोर बनाउन र समुदायबीच फाटो ल्याउन केही पदलोलुप व्यक्तिहरूले जालसाजीपूर्ण क्रियाकलाप गरिरहेका छन् । यी व्यक्तिहरूले मिति २०७९ कात्तिक १३ गतेको माइन्युट कीर्ते गरी नक्कली कार्यसमिति खडा गरेको पाइएको छ । सोही आधारमा महासंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गत वर्षदेखि नै कानूनी उजुरीहरू दर्ता गराउँदै आएको छ । पछिल्लो पटक २०८० असार २७ गते जिल्ला प्रशासन कार्यालयमा दिइएको निवेदनका आधारमा प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौँलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि पत्र काटेको छ ।

अध्यक्ष गहतराजले यस्तो अराजक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै महासंघको आधिकारिकता जोगाउन निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय क्रिश्चियन महासंघ नेपालको उद्देश्य नेपाली क्रिश्चियन समुदायको हक, अधिकार, पहिचान र स्वाभिमानको संरक्षण गर्दै समुदायमा एकता कायम गर्नु हो । महासंघको विधानविपरीत गतिविधि गर्ने व्यक्तिहरूलाई २०७९ सालमै विधानअनुसार निष्कासन गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराइसकिएको छ ।

महासंघको आधिकारिकतामाथि भ्रम सिर्जना गर्ने, केन्द्रीय कार्यालयमा तोडफोड तथा लुटपाट गर्ने, महत्त्वपूर्ण कागजात र छाप दुरुपयोग गर्ने तथा पदाधिकारीमाथि धम्की र आक्रमण गर्ने घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको छ । नक्कली हस्ताक्षर, कार्यसमिति र आधिकारिक कागजातको दुरुपयोगसम्बन्धी विषयमा २०८०-०३-२७ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको र २०८०-०३-२८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक कारबाहीका लागि पत्राचार गरिएको छ ।

महासंघप्रति निरन्तर विश्वास, सहयोग र प्रार्थना गर्नुहुने सम्पूर्ण पास्टर, अगुवा, मण्डली तथा नेपाली क्रिश्चियन समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै सत्यतथ्य बुझेर एकतावद्ध रहन आग्रह गर्दछौ ।’ उहाँले समुदायका अगुवा र सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गर्दै संस्थाको विधान र लोकतान्त्रिक प्रक्रियाको रक्षाका लागि सबैको साथ र धैर्यताको सराहना गर्नुभयो । यस्ता अनैतिक कार्यले ख्रिष्टियन समुदायको स्वाभिमानमा आँच पु¥याएको भन्दै उहाँले महासंघकोतर्फबाट गम्भीर दुःख व्यक्त गर्नुभयो ।

Skip This