Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


चितवनमा निउरो टिप्न जंगल गएका व्यक्ति बेपत्ता, बाघको आक्रमणको आशंका


182
Shares

समीर चापागाईं,चितवन ।

चितवनको भरतपुरमा जंगलमा निउरो टिप्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्न गएका करिब ४५ वर्षीय भीमकुमार महत्तो बेपत्ता भएका हुन् ।

साविकको टाइगर टप्स होटल जाने बाटो आसपासको जंगलमा हिजो दिउँसो करिब ३ बजे उनी निउरो टिप्न गएका थिए । उनीसँगै अन्य चार–पाँच जना पनि जंगल गएको बताइएको छ । तर, उनीहरू फर्किए पनि महत्तो भने सम्पर्कविहीन भएका छन् ।

परिवारका सदस्यले महत्तोमाथि बाघले आक्रमण गरेको आशंका गरेका छन् । उनकी ठूलीआमा सोनु चौधरीले बाघको आक्रमणबाट उनको मृत्यु भएको दाबी गरेकी छन् । जंगल आसपास बसोबास गर्ने स्थानीय निउरो तथा घाँस टिप्न जंगल जाने गरेको उनले बताइन् ।

यता, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बाघको आक्रमण भएको पुष्टि नभइसकेको बताएका छन् । उनका अनुसार आज बिहान ७ बजेदेखि पुनः खोजी कार्य भइरहेको छ ।

यसअघि पनि मेघौली क्षेत्रमा बाघको आक्रमणमा परी भरतपुर–२८ का बोटे थरका एक व्यक्तिको मृत्यु भएको थियो ।

Skip This