Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


पर्यटनमन्त्री पौडेल वर्ल्ड ट्राभल मार्केटमा सहभागी हुन लन्डनमा


26
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय कार्यक्रम ‘वर्ल्ड ट्राभल मार्केट’ २०२६ मा सहभागी हुन लन्डन पुग्नुभएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बेलायत पुग्नुभएको हो।

तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम आजदेखि लन्डनमा सुरु हुँदैछ। मन्त्री पौडेललाई सोमबार हिथ्रो विमानस्थलमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले स्वागत गर्नुभएको थियो।

स्वागतका क्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त, दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहलगायत पर्यटन बोर्ड तथा दूतावासका कर्मचारीहरूको उपस्थिति थियो।

यस वर्षको वर्ल्ड ट्राभल मार्केटमा नेपाल पर्यटन बोर्डको संयोजनमा ३२ वटा कम्पनी सहभागी भएका छन्। होटल सोल्टीले भने छुट्टै रूपमा मेलामा सहभागिता जनाएको छ।

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धन गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

मेलाका क्रममा मन्त्री पौडेलले विभिन्न देशका पर्यटनमन्त्रीहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Skip This