Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै


78
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

आजको पहिलो खेलमा विराटनगर र जनकपुर दिउँसो साढे १२ बजे भिड्नेछन्। जारी प्रतियोगितामा तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार व्यहोरेको छ। विराटनगर चितवन र कर्णालीसँग पराजित भएको थियो भने सुदूरपश्चिमलाई हराउन सफल भएको थियो।

यता जनकपुरले पनि तीन खेल खेलिसकेको छ। दुई खेलमा जित निकालेको जनकपुर एक खेलमा पराजित भएको छ। पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले त्यसपछि काठमाडौं र पोखरालाई पराजित गरेको थियो।

आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दिउँसो साढे ४ बजे प्रतिस्पर्धा हुनेछ।

दुई खेल खेलेको लुम्बिनीले एक जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो। प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो। चितवनसँगको दोस्रो खेल भने वर्षाका कारण पूरा हुन सकेन।

पोखरा एभेन्जर्सले भने अहिलेसम्म जितको खाता खोल्न सकेको छैन। दुई खेल खेलेको पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो।

लगातार दुई हार बेहोरेको पोखरा आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। उता लुम्बिनी पनि जितलाई निरन्तरता दिने योजनासहित मैदान उत्रनेछ।

Skip This