काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आक्रमणपछि केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
स्थानीय अधिकारीका अनुसार रुसी सेनाले कोमिशुभाखा गाउँमा मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग हुँदै आएको विद्यालयलाई निशाना बनाएको थियो। उक्त विद्यालयमा कम्तीमा नौवटा शक्तिशाली बम प्रहार गरिएको बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राहत लिन भेला भएका सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणलाई अत्यन्तै भयावह घटना बताउनुभएको छ। उहाँले रुसले शान्ति स्थापनाका प्रयासलाई बेवास्ता गरेको आरोपसमेत लगाउनुभएको छ।
आक्रमणपछि उद्धार टोलीले भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी जारी राखेका छन्। तर, उक्त क्षेत्रमा रुसी ड्रोन आक्रमणको जोखिम कायम रहेकाले उद्धार कार्य पटक–पटक प्रभावित भइरहेको छ।
यसैबीच, युक्रेन, रुस र अमेरिकाबीच आगामी केही दिनमा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा शान्तिवार्ता पुनः सुरु गर्ने तयारी भइरहेको छ। यद्यपि, वार्ताबाट तत्काल ठोस उपलब्धि हासिल हुने सम्भावना न्यून रहेको बताइएको छ।









प्रतिक्रिया दिनुहोस्