काठमाडौं । भारतको आन्ध्र प्रदेश र विशाखापट्नम आसपास प्रभाव पार्न सक्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’लाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्राधिकरणले अक्टोबर २८ मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक तथा वायुसेवा कम्पनीहरूलाई आवश्यक तयारी गर्न आग्रह गरेको हो ।
मौसम प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न प्रदेशमा भारी वर्षा, हावाहुरी, चट्याङ तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ । यस्तो प्रतिकूल मौसमले उडान तथा अवतरण, दृश्यता र धावनमार्ग सञ्चालनमा समस्या निम्त्याउन सक्ने प्राधिकरणको आकलन छ ।
सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले उडानअघि मौसमको अवस्था मूल्यांकन गर्न निर्देशन दिएको छ । आवश्यकताअनुसार उडान मार्ग परिवर्तन गर्ने र वैकल्पिक विमानस्थलको व्यवस्था मिलाउने तयारी गर्न पनि भनिएको छ ।
त्यसैगरी धावनमार्ग, सञ्चार प्रणाली र उडान सञ्चालनका लागि आवश्यक अन्य उपकरणको नियमित निरीक्षण तथा अवस्थाबारे सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्