काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्काले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिए ।
उनका अनुसार, प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उनको भनाइ छ ।
फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए । यसअनुसार एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने उनको अनुमान छ ।
खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिए । उनका अनुसार, प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गरे । उनले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताए ।










प्रतिक्रिया दिनुहोस्