काठमाडौँ । दसैँको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ।
दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार निःशुल्क बस सेवा लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै यात्रुलाई सेवा दिनेछ। त्यस्तै, अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
दसैँका बेला सार्वजनिक यातायातको अभावबाट यात्रुले भोग्नुपर्ने समस्यालाई कम गर्दै सहज आवतजावतको व्यवस्था मिलाउन सशस्त्र प्रहरीले यस्तो सेवा सञ्चालन गरेको हो।










प्रतिक्रिया दिनुहोस्