Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते


455
Shares

मुम्बई । बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्रफ सकुशल रहे पनि उनका चालकसहित दुई जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार फुटबल खेलेर घर फर्किने क्रममा जुहूस्थित पुष्पा पार्कनजिकै अज्ञात व्यक्तिहरूले श्रफको गाडीमा गोली चलाएका थिए। घटनाका बेला उनलाई हेर्न समर्थकहरूको समेत भीड लागेको थियो।

गोली प्रहारबाट अभिनेता श्रफलाई कुनै चोट नलागेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका चालक र अर्का एक व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनापछि मुम्बई प्रहरीले अनुसन्धान तीव्र पारेको छ। प्रहरीले घटनास्थलबाट प्रमाण सङ्कलन गर्नुका साथै आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराका फुटेज जाँच गरिरहेको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, घटनामा लरेन्स बिश्नोई समूहसँग सम्बन्धित व्यक्तिहरूले जिम्मेवारी लिएको दाबीसहितका विवरण सार्वजनिक भएका छन्। यद्यपि, उक्त दाबीको आधिकारिक पुष्टि हुन बाँकी छ। प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरू तथा घटनाको सम्भावित कारणबारे थप अनुसन्धान गरिरहेको छ।

Skip This