काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ। उनलाई लिन ब्युरोको टोली आज बिहान नख्खुस्थित निवासमा पुगेको थियो।
साइबर ब्युरोका एक उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि छलफलका लागि बोलाइएको हो।
समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएका छन्। ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई सँगै राखेर छलफल गराउने तयारी गरिएको छ।
श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो।
श्रेष्ठविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।










प्रतिक्रिया दिनुहोस्