Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता


65
Shares

एजेन्सी ।

मेक्सिकोको क्यालिफोर्निया प्रायद्वीपको तटनजिकै समुद्रमा डुब्न लागेको डुङ्गाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन्।

शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १ बजे सान डिएगोस्थित कोस्ट गार्डले डुङ्गामा पानी भरिएको भन्दै आएको आपत्कालीन सन्देश प्राप्त गरेको थियो। उक्त घटना मेक्सिकोको एन्सेनाडा सहरबाट करिब २२५ किलोमिटर पश्चिममा भएको हो।

उद्धार अभियानमा कोस्ट गार्डका विमान तथा जहाजसँगै अमेरिकी नौसेनाको यूएसएस किङ्सभिल जहाज र हेलिकप्टर परिचालन गरिएको थियो। खोजीका क्रममा डुङ्गाका अवशेष फेला परेका थिए।

उद्धार गरिएका १६ जनालाई थप स्वास्थ्य परीक्षणका लागि स्थानीय अस्पताल पठाइएको छ। उनीहरूमध्ये दुई जना मेक्सिकन नागरिक रहेको अधिकारीहरूले बताएका छन्।

कोस्ट गार्डका अनुसार डुङ्गामा ठूलो सङ्ख्यामा मानिस सवार थिए र त्यसले अवैध समुद्री तस्करीमा प्रयोग हुने मार्ग पछ्याइरहेको थियो। घटनाको कारण खुलेको छैन। बेपत्ता व्यक्तिहरूको खोजी जारी छ।