Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु


156
Shares

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ सुनारथोकमा बोलेरो पिकअपको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ३ः५० बजे ढोरपाटनबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज ४९०४ नम्बरको बोलेरो पिकअपले सडक पार गर्दै गरेका स्थानीय अंकित विकका छोरा रिकोस विकलाई ठक्कर दिएको हो।

सडकमा खेलिरहेका बालक गाडी आएको देखेपछि दौडिएर सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए। पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको थियो।

अस्पतालमा साँझ ६ बजे पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उनको शव अस्पतालकै शवगृहमा राखिएको छ।

घटनास्थल ढोरपाटन प्रहरी चौकीबाट करिब एक किलोमिटर पश्चिममा पर्छ। दुर्घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक आशिक क्षेत्रीको नेतृत्वमा ढोरपाटन प्रहरी चौकीबाट चार जना र प्रहरी नायब निरीक्षक सुदीप भट्टराईको नेतृत्वमा ट्राफिक प्रहरीसहित छ जनाको टोली इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न बोलेरो पिकअप र चालक हिमाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।