काठमाडाैं ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार उक्त सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । २०८३ भदौसम्मको तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ ।
अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । यस अवधिमा मुलुकको चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले वचतमा रहेको छ भने शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । यसले वाह्य क्षेत्रको समग्र अवस्थामा वचत कायम रहेको देखिएको छ भने चालु आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । वार्षिक विन्दुगत आधारमा नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत र अमेरिकी डलरमा १३.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८ सय ८४ रहेको थियो । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ ।
यस अवधिमा राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ रहेको छ । सरकारी खर्च राजस्व परिचालनभन्दा १६ अर्ब ६३ करोड रुपैयाँ बढी रहेको छ । भदौसम्म विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायको वृद्धिदर १४.९ प्रतिशत रहेको छ ४८. समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ ।
२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पती (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५.१ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८३-८४ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको ७.३ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ भने वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशत, विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृति कर्जा ०.८ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत, र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको छ ।







प्रतिक्रिया दिनुहोस्